काठमाडौं : अन्तर्राष्ट्रिय एटीएम कार्ड ह्याकरको निशानामा नेपाल रहेको रहस्य खुलेको छ। प्रहरीले एटीएम कार्डको डाटासमेत ट्रान्सफर गर्न मिल्ने 'मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिन' सहित टर्किस नागरिक मेहमत गुलेनलाई पक्राउ गरेपछि यो रहस्य सार्वजनिक भएको हो।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले एपेक्स डेभलपमेन्टलगायत बैंकबाट 'शंकास्पद ब्यांकिङ ट्रान्जेक्सन' भएको सूचना पाएपछि अनुसन्धान दायरा फराकिलो पारेको थियो।
प्रहरीले सीसीटीभी निगरानीका आधारमा गुलेनलाई बुधबार अपराह्न ठमेलस्थित कर्मचारी सञ्चय कोषअगाडि एपेक्स बैंक र स्ट्यान्डर्ड चार्टर्ड बैंकको एटीएम बुथबाट पैसा झिकी ट्याक्सी चढ्दै गरेको अवस्थामा पक्राउ गरेको हो।
गुलेनले एटीएम ह्याक गरी विभिन्न व्यक्तिको खाताबाट पैसा झिकेका थिए। सीआईबीका अनुसार गुलेनले विदेशी नागरिककै एटीएमको डाटा र पिनकोड चोरी गरी मिनी म्याग्नेटिभ स्ट्रिप रिडर राइटर मेसिनमार्फत स्विप कार्डमा एटीएमको डाटा ट्रान्सफर गरेर भिसा कार्ड, मास्टर कार्ड र डेबिट कार्ड बनाउँथे।
गुलेनले हिमालयन बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक लगायतका एटीएम मेसिनबाट पैसा निकालेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। गत कात्तिक २७ गते नेपाल प्रवेश गरेका गुलेन २८ गतेदेखि नै दिनभर एटीएम कार्डबाट पैसा झिक्ने गर्थे।
घटनाबारे जानकारी दिन बिहीबार आयोजित पत्रकारसम्मेलनमा डीएसपी भीमबहादुर दाहालले भने, 'गुलेन नेपाल प्रवेश गर्नुअगाडि थाइल्यान्ड, कतार र भारतमा समेत बसेको पाइयो।' गुलेन सुरुमा दरबारमार्गस्थित याक एन्ड यती होटेलमा बसी २८ गतेबाट दरबारमार्गस्थित होटेल उडल्यान्डमा सरेका थिए।
गुलेनले सुरुमा नमुना प्रयोगका लागि एटीएम बुथबाट पाँच हजार, १० हजार र १५ हजारका दरले रकम झिकेका थिए। गुलेन बस्दै आएको होटेलको कोठा नम्बर ३०१ बाट प्रहरीले २६ लाख नेपाली, पाँच हजार अमेरिकी डलर, म्याग्नेटिभ कार्डमा डाटा परिवर्तन गर्न प्रयोग हुने मेसिन, पेट्रेल पम्पमा स्विप गर्ने म्याग्नेटिभ कार्डमा चोरी गरेको एटीएमको डाटा र पिनकोड राखिएका ४२ वटा कार्ड, ल्यापटप, सीडी, तीनवटा मोबाइल र सिमकार्ड पनि बरामद गरेको छ।
डीएसपी दाहालका अनुसार गुलेनले प्रयोग गरेको एटीएम कार्डको पिनकोड र डाटा सबै विदेशी नागरिकका एटीएमका हुन्। 'विदेशी नागरिककै एटीएमको पिनकोड र डाटा गुलेनले कसरी पाए भन्नेबारे थप अनुसन्धान गर्छौं', उनले भने।
प्रहरीका अनुसार यस्ता गिरोहले एटीएम मेसिनमै अत्याधुनिक मेसिन जडान गरेर बैंकका खातावालाले प्रयोग गर्ने एटीएमको डाटा र पिनकोड चोरी गर्ने, बैंककै कर्मचारीसँग मिलोमतो गरी एटीएमको पिन नम्बर र डाटा कपी गर्ने तथा विभिन्न डिपार्टमेन्ट स्टोरका क्यासियरसँग मिलोमतो गरी एटीएमको डाटा कपी गर्ने गर्छन्। गुलेनले नेपालबाट कम्तीमा ५० लाख रुपैयाँ झिकेर नोभेम्बर २७ मा स्वदेश फर्कने तयारी गरिरहेको पाइएको दाहालले बताए। यसअघि २०६९ चैत २१ गते प्रहरीले तीनजना भारतीय नागरिकलाई महेन्द्रनगरबाट एटीएम फ्रड मुद्दामा पक्राउ गरेको थियो। सुवास गोतामे अन्नपुर्ण पोस्ट :
भिडियो तल हेर्नुहोस । भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया ( कमेन्ट ) दिन नभुल्नुहोला ! यदि भिडियो सिधै क्लिक गर्दा खुलेन भने भिडियो माथिको फोटोलाई एक क्लिक गरेर हटाईदिनुहोला र हेर्नुहोला। नोट : कृपया कुनै भिडियो अलि धेरै हट र आपतिजनक खालको भएकोले सकभर १८ बर्ष भन्दा माथिका र मुटु दर्र्हो हुनेहरुले मात्र भिडियो क्लिक गर्नुहोला !
Sponsored Links