काठमाडौ, जेष्ठ २७ - नेपाल प्रहरीका एक हवल्दार १६ वर्ष नपुगेकी 'प्रेमिका' सँग यौनसम्बन्ध राखेका कारण हिरासतमा परेका छन् । यूएन मिसन सुडान जान लागेका ३२ वर्षे हवल्दार टीकाराम श्रेष्ठ काभ्रेकी किशोरीलाई 'जबर्जस्ती करणी गरेको' अभियोगमा शनिबार पक्राउ परेका हुन् । उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको हिरासतमा राखिएको छ ।
उनले मिसन जाने मौका मात्र गुमाएनन्, फौजदारी अभियोगमा पक्राउ परेकाले १४ वर्षदेखिको जागिर पनि गएको छ । जबर्जस्ती करणीमा अदालतले फैसला गरे उनले जेलसमेत जानुपर्ने छ । कानुनअनुसार १६ वर्ष नपुगेकी किशोरीसँग राजीखुसीमा यौनसम्पर्क राखे पनि जबर्जस्ती करणी मानिन्छ । उक्त दिन किशोरी १५ वर्ष १७ दिन मात्र पुगेकी थिइन् । मुलुकी ऐन जबर्जस्ती करणीको महलअनुसार ६ देखि १० वर्षसम्म कैद हुन सक्छ ।
प्रहरी मुख्यालय स्रोतका अनुसार श्रेष्ठको तीन महिनाअघि ती किशोरीसँग चिनजान भएको थियो । काभ्रेबाट काठमाडौं आएकी किशोरी आफन्तको घर जाने बाटो थाहा नपाएर रत्नपार्कमा अलमलिएका बेला मद्दत मागेकी थिइन् । श्रेष्ठले उनलाई रातोपुलस्थित मामाको घरमा छाडिदिएका थिए । त्यहीबेला दुई जनाबीच सम्पर्क नम्बर आदानप्रदान भएको थियो ।

'त्यसपछि नियमित फोन सम्पर्क भएको देखिन्छ,' एक प्रहरी अधिकृतले भने, 'श्रेष्ठ किशोरीलाई भेट्न पटक-पटक काभ्रे जान्थे ।' श्रेष्ठ यूएन मिसनमा सुडान जान लागेका थिए । मुख्यालयमा दरबन्दी भएका श्रेष्ठले मिसन जाने पक्का भएपछि किशोरीलाई केही साताअघि भेटेका थिए । उनी जेठ २२ गते सुडान जाने तयारीमा थिए । तर यूएनको जहाज ढिलो आउने भएपछि किशोरीलाई भेट्ने योजना बनाए ।
'किशोरी काभ्रेबाट काठमाडौं आएपछि श्रेष्ठको साथीको घरमा दुवै रातभर बसेको पाइयो,' प्रहरीको भनाइ छ, 'भोलिपल्ट श्रेष्ठले ती किशोरीलाई काभ्रेस्थित उनको घरनजिकै छाडेर आए ।'
श्रेष्ठ फर्किएपछि किशोरीकी आमाले राति कहाँ गएको भन्दै सोधपुछ गरिन् । किशोरीले सबै कुरा बताइन् । उनले हवल्दार श्रेष्ठसँग प्रेमसम्बन्ध भएको र ऊ मिसनमा जान लागेकाले भेट्न गएको बताएपछि किशोरीकी आमाले युनिसेफमा काम गर्ने भाइलाई यसबारे जानकारी गराइन् । आफ्नी भान्जीलाई प्रहरीले ललाईफकाई यौनसम्पर्क राखेको भन्दै किशोरीका मामाले प्रहरी मुख्यालयमा उजुरी दिए । पक्राउपछि श्रेष्ठले बिहे गर्ने मनसायले प्रेमसम्बन्ध राखेको बयान दिएका छन् ।
Sponsored Links