पूर्वयुवराज्ञी एवम् हिमानी कोषकी अध्यक्ष हिमानी शाहले सुदूरपश्चिमका बाढीपीडितलाई राहत सामग्री वितरण गर्ने आफूहरुको उद्देश्य पूरा भए पनी आफ्नै हातले राहत सामग्री वितरण गर्ने नपाएको गुनासो गर्नुभएको छ । पत्रकारसँग मंगलबार यहाँ संक्षिप्त कुरा गर्दै कोषकी अध्यक्ष शाहले भन्नुभयो, “जुन उद्देश्यले आएका थियौँ, त्यो उद्देश्य पूरा भयो ।” उहाँले बाढीपीडितले सही ढंगले राहत सामग्री पाए नपाएकोबारे जानकारी दिई सहयोग गरिदिन पत्रकारसँग आग्रह गर्नुभयो ।कोषकी सचिव विजयालक्ष्मी राणाले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पूर्वस्वीकृति लिएर दार्चुला जिल्लामा कोषकी अध्यक्ष स्वय्मबाट र निर्वाचन आचारसंहिता जारी भइसकेपछि कैलाली र कञ्चनपुर जिल्लामा जिल्ला दैवीप्रकोप उद्धार समितिमार्फत राहत वितरण गरिएको बताउनुभयो । सो अवसरमा वितरित विज्ञप्तिमा विशुद्ध मानवीय सेवा र गैरराजनीतिक संस्था हिमानी कोषमार्फत भएको राहत वितरणको कार्यलाई अन्यथा अर्थमा नलिन आग्रह गरिएको छ ।विज्ञप्तिमा राहत वितरणमा सहयोग पुर्याउने पूर्वराजा ज्ञानेन्द्र शाहलगायत संघसंस्था, सञ्चारकर्मी, सुरक्षाकर्मी, बुद्धिजीवी सबैप्रति आभार प्रकट गरिएको छ ।
Sponsored Links

